Section 63
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक
(१) लेखापरीक्षकको नियुक्ति बैंक वा वित्तीय संस्थाको साधारण सभाबाट हुनेछ । (२) साधारण सभाले एउटै लेखापरीक्षकलाई लगातार तीन पटकभन्दा बढी अवधिको लागि नियुक्ति गर्न सक्ने छैन । (३) साधारण सभाले उपदफा (१) बमोजिम लेखापरीक्षक नियुक्ति गर्दा “क”, “ख” र “ग” वर्गको इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाको हकमा चार्टर्ड एकाउन्टेण्ट र “घ” वर्गको इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाको हकमा चार्टर्ड एकाउन्टेण्ट वा दर्तावाला लेखापरीक्षकलाई नियुक्ति गर्नु पर्नेछ । (४) उपदफा (१) बमोजिम बैंक वा वित्तीय संस्थाले लेखापरीक्षक नियुक्ति नगरेमा वा गर्न नसकेमा राष्ट्र बैंकले लेखापरीक्षक नियुक्ति गर्न सक्नेछ । (५) कुनै कारणले लेखापरीक्षकको स्थान रिक्त भएमा बाँकी अवधिको लागि सञ्चालक समितिले अर्को लेखापरीक्षकको नियुक्ति गर्नु पर्नेछ । (६) बैंक वा वित्तीय संस्थाको लेखापरीक्षकको पारिश्रमिक राष्ट्र बैंकले नियुक्त गरेकोमा राष्ट्र बैंकले, साधारण सभाले नियुक्त गरेकोमा सो सभाले र सञ्चालक समितिले नियुक्त गरेकोमा सो समितिले तोके बमोजिम हुनेछ ।